“सुकुम्बासी” — एउटा शब्द होइन, हजारौं पीडाको नाम
जब कसैले “सुकुम्बासी” भनेर हेप्छ,
त्यो केवल एउटा शब्द हुँदैन,
त्यसले हजारौं सपनाको मृत्यु सम्झाउँछ ।
हजारौं परिवारको अधुरो जीवन सम्झाउँछ ।
र ती आँखाहरू सम्झाउँछ,
जसले जिन्दगीभर आफ्नै भनिने एक टुक्रा जमिनको सपना मात्रै देखिरहे ।
कोही मानिस रहरले सुकुम्बासी हुँदैन ।
उसले पनि सानो घरको सपना देखेको हुन्छ ।
आँगनमा फूल रोप्ने चाहना हुन्छ ।
छोराछोरीलाई सुरक्षित छानोमुनि सुताउने इच्छा हुन्छ ।
तर जब गरिबीले घाँटी थिच्छ,
जब गाउँमा बाँच्ने आधार सकिन्छ,
जब भोकले घरभित्रै कराउँछ,
त्यतिबेला मानिस बाध्य भएर शहरको किनारामा पुग्छ ।
खोलाको छेउमा, जोखिमको जमिनमा, त्रिपालमुनि जीवन बनाउन खोज्छ ।
तर समाजले उसको बाध्यता देख्दैन ।
उसको संघर्ष देख्दैन ।
केवल टहरा देख्छ ।
केवल “अतिक्रमणकारी” देख्छ ।
साँझ परेपछि अरूका घरमा बत्ती बल्छन्,
सुकुम्बासीको मनमा डर बल्छ ।
“आज राति डोजर आउला कि ?”
“भोलि बच्चाहरू कहाँ सुत्लान् ?”
“वर्षाले फेरि सबै बगाउला कि ?”
त्यो डरले बाँच्नु भनेको बिस्तारै मर्नु जस्तै हो ।
राज्यका ठूलाठूला भाषणमा गरिबको कुरा हुन्छ ।
नेताका भाषणमा “जनता” धेरै आउँछन् ।
तर जब साँचो गरिबको कुरा आउँछ,
त्यही जनता सडकमा फालिन्छन् ।
चुनाव आउँदा आश्वासनको ओइरो लाग्छ ।
“लालपुर्जा दिन्छौं” भनिन्छ ।
“व्यवस्थापन गर्छौं” भनिन्छ ।
गरिबको काँधमा हात राखेर फोटो खिचिन्छ ।
तर चुनाव सकिएपछि त्यही हातले डोजरको आदेश दिन्छ ।
सबैभन्दा दुखद कुरा के हो भने,
सुकुम्बासीको पीडामा पनि समाजले मजाक देख्छ ।
कसैले भन्छ —
“फ्रीको जमिन खोज्नेहरू ।”
कसैले भन्छ —
“अतिक्रमण गरेर बसेका ।”
तर कसैले त्यो आमाको आँसु देख्दैन,
जसले पानी चुहिने छानोमुनि बच्चा च्यापेर रात कटाएकी हुन्छे ।
कसैले त्यो बाबुको पसिना देख्दैन,
जसले दिनभर मजदुरी गरेर साँझ खाली हात घर फर्कँदा बच्चाको अनुहार हेरेर रोएको हुन्छ ।
सुकुम्बासीको सबैभन्दा ठूलो पीडा घर नहुनु मात्र होइन,
आफ्नो देशमै पराई बनाइनु हो ।
जहाँ गरिब हुनु अपराधजस्तै बनाइन्छ ।
जहाँ दुःख सुनाउन खोज्दा पनि आवाज दबाइन्छ ।
आज तिमीहरू हाँसिरहेका छौ,
खिल्लि उडाइरहेका छौ,
अपमान गरिरहेका छौ ।
तर याद राख —
समय सधैं एउटै हुँदैन ।
जिन्दगीले एकैछिनमा मानिसलाई सडकमा ल्याउन सक्छ ।
एउटा बाढी, एउटा पहिरो, एउटा रोग, एउटा दुर्घटना,
वा एउटा गलत निर्णयले
सपना देख्ने मानिसलाई पनि बेसहारा बनाउन सक्छ ।
त्यसैले कसैको गरिबीमाथि नहाँस ।
कसैको बाध्यतामाथि मजाक नगर ।
किनकि पीडा जब आफ्नै ढोकामा आउँछ,
त्यतिबेला अरूको आँसु किन बगेको थियो भन्ने बुझिन्छ ।
र कहिलेकाहीँ सुकुम्बासीको मनभित्र गहिरो पीडाले यस्तो आवाज निकाल्छ —
“एक पटक तिमीहरूलाई पनि सुकुम्बासी हुन परोस्…
त्यसपछि थाहा हुनेछ —
भोक कति कठोर हुँदो रहेछ,
अपमान कति पोल्दो रहेछ,
र आफ्नै देशमा पराई भएर बाँच्नु
कति ठूलो सजाय हुँदो रहेछ…”
तिमिहरुलाई पनि एकदिन सुकुम्बासी हुन पराेस !!
तिमिहरुलाई पनि एकदिन सुकुम्बासी हुन पराेस !!

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





