जनचाैतारी संवाददाता / कास्की
पोखरा महानगरपालिका–१५, वडा कार्यालय परिसरमा “पूर्ण खोप सुरक्षित भविष्य” भन्ने मूल नारासहित पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा समारोह भव्य रूपमा सम्पन्न भएको छ।

“For every generation, vaccines work” भन्ने सन्देशलाई आत्मसात गर्दै आयोजित कार्यक्रममा वडा खोप समन्वय समिति, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वडा स्तरमा बालबालिका तथा लक्षित समूहलाई नियमित खोप सेवा प्रभावकारी रूपमा प्रदान गरिएको, पूर्ण खोप सुनिश्चितता कायम गरिएको तथा त्यसको दिगोपनाका लागि निरन्तर निगरानी र सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
समारोहका अवसरमा सहभागीहरूले पूर्ण खोप अभियानलाई अझ प्रभावकारी बनाउन समुदायस्तरमा जनचेतना अभिवृद्धि, नियमित अनुगमन तथा सबै सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेको बताएका थिए।
वडा खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्दै आगामी दिनमा पनि खोप सेवाको पहुँच, गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिइने जनाएको छ।






