बुद्धिचाल प्रतियोगितामा भ्यु पोइन्ट बोर्डिङ स्कुल प्रथम
पोखरा । महानगरपालिका वडा नं. १५ को आयोजनामा अन्तरविद्यालय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। “राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद” भन्ने नारासहित कोलपाटनस्थित वडा कार्यालय परिसरमा सम्पन्न प्रतियोगितामा पोखराका ३८ विद्यालयका छात्र तथा छात्राहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष तोरणबहादुर बानियाँ ले गरेका थिए। कार्यक्रममा बोल्दै उनले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, धैर्यता, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्ने बताए।
प्रतियोगिता संयोजक एवं वडा सदस्य आशीष भण्डारी का अनुसार प्रतियोगितामा सहभागी विद्यार्थीहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए। गण्डकी प्रदेश बुद्धिचाल संघ को व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीहरूलाई ट्रफी, नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताको नतिजाअनुसार भ्यु पोइन्ट बोर्डिङ स्कुल प्रथम, मदरल्याण्ड विद्यालय द्वितीय तथा बालोदय विद्यालय तृतीय भएका छन्।
विद्यालय तहदेखि नै विद्यार्थीहरूमा बौद्धिक खेलप्रति आकर्षण बढाउने, रणनीतिक सोचको विकास गर्ने तथा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।







